कैलालीका १ सय १० घर डुवानमा

कैलाली : सोमबार रातिदेखि मनसुन पुनः सक्रियसँगै कैलालीका विभिन्न स्थान डुवानमा परेका छन् । मंगलबार रातिदेखिको निरन्तर वर्षापछि नदिनालामा आएको बाढी वस्तीहरुमा परेपछि डुवान भएको हो ।

 

बिज्ञापन

धनगढी उप–महानगरपालिकाको वडा नम्वर १ मा नालाको पानी घरमा पसेर आधा दर्जन घरमा क्षति पुगेको छ ।भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा कान्द्रा, काडा र पथरैया नदीको पानी वस्तीमा पसेपछि करिब १ सय १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

पानी पसेपछि घरमा रहेको अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको छ भने प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

 

कैलालीको लम्कीचुहा, टीकापुर, भजनी र घोडाघोडी नगरपालिकाका केहि घर डुवानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।उनले बाढी र डुबानले पुगेको क्षतिको विवरण संकलन भइरहेको बताए ।

 

उनले नदीहरूमा पानीको वहाव बढ्न थालेसँगै जिल्ला विपद् व्यवस्थापन समिति मातहतका सबै निकाय उद्धार र राहतको लागि तयारी अवस्थामा रहेको बताए ।

 

लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले नगरका वडा नम्वर १, ७ र ९ मा केही घर डुवानमा परेको बताइन् ।अहिले पनि कैलाली र कञ्चनपुरका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

 

मनसुनी वायुमा हुने उतावचढावका कारण नेपालमा कहिले लामो झरी तथा कहिले सुख्खा हुने गरेको छ । एक–दुई दिन रोकिएको झरी फेरि सोमबारबाट शुरु भएसँगै प्रायः देशभर वर्षा भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार सोमबारदेखि शुरु भएको वर्षा भने सबै ठाउँमा बराबर नभएर केही स्थानमा भारी वर्षा हुने जनाएको छ ।