भारी बर्षातका कारण प्रदेश २ का सबै जिल्ला डुबानमा

लगातारको वर्षाका कारण प्रदेश २ का आठै जिल्ला डुबानमा परेका छन् ।

बुधबार रातिदेखि भएको वर्षाले प्रदेश २ का ठूला नदीमा पानीको बहाव बढेको छ । रौतहट, सर्लाही, महोत्तरी र सप्तरी बाढीको उच्च जोखिममा छन् ।

बिज्ञापन

यसैबीच शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायका प्रमुखलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । शुक्रबार विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले बाढीको जोखिम न्यूनीकरणका लागि तयारी बस्न र आवश्यक सामग्री तत्कालै उपलब्ध गराउन सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिए । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी राजु अर्यालका अनुसार जोखिम क्षेत्रमा सतर्कता अपनाउन उद्धारसहितको छुट्टै टिम पनि परिचालन गरिएको छ ।

गत वर्ष असारको अन्तिम साताको वर्षाले प्रदेश २ का सबै जिल्ला प्रभावित बनेका थिए । तटबन्ध भत्काउँदै बाढी बस्तीमा छिरेपछि जनधनको ठूलो क्षति भएको थियो । प्रदेशका ठूला नदी कमला, वाग्मती, बकैया, रातु, खाँडो र लखनदेहीमा पानीको बहाव तीव्र बनेको छ । प्रदेश १ र २ को सीमाबाट बग्ने कोसी नदी पनि उफानमा छ ।