
काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई खर्च धान्न हम्मेहम्मे परेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा आर्थिक विधेयककाे विषयमा सांसदहरुले उठाएकाे प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले चालु खर्च धान्न सरकारलाई समस्या रहेको बताउनुभएको हो ।



उहाँले अहिले उठिरहेको राजस्वले दैनिक खर्च धान्न सक्ने अवस्था नरहेको बताउनुभयो । जेठमा मासिक ४० अर्ब रुपैयाँ खर्च रहेकोमा भन्सारबाट जम्मा १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब रुपैयाँ मात्रै सङ्कलन भइरहेकोले अनिवार्य दायित्व पूरा गर्न थप प्रयास गर्ने अवस्था आएको अर्थ मन्त्री खतिवडाको भनाइ छ ।

उहाँले आन्तरिक व्यापार बढिरहेको र भन्सारको आयात–निर्यात पनि पुरानै अवस्थामा फर्कने क्रममा रहेकाेले आर्थिक अवस्था पनि सुधार हुने आशा रहेको बताउनुभयो ।
वैशाख र जेठमा सरकारको आम्दानीमा साह्रै कमी आए पनि असारमा केही सहज हुने उहाँको भनाइ छ । अब लकडाउनलाई मात्रै सरकारले एकमात्र विकल्पकाे रुपमा नलिने र सङ्क्रमणको जोखिमलाई कम गरेर व्यापार व्यवसायलाई सहज बनाउने खतिवडाले बताउनुभयो ।
आउँदो वर्षको लागि राखिएको राजस्वकाे लक्ष्य पनि भेटाउन सकिने खतिवडाको भनाइ छ ।