
जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका १ करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ ।




कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा १५ जेठ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ ।

केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ । सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो ।
हाल केन्द्रका २ वटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको कामसमेत गरिएको जनाइएको छ ।
प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ । अबको ३ सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पुर्याउने केन्द्रको योजना छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण जारी लकडाउनको अवधिमा ढुवानीको सुविधा हुनसके आगामी १५ जेठसम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्याइने भएको छ ।
बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पुर्याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ । केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले विद्यालय मार्फत जेठ १५ सम्म विद्यार्थीको हातमा पुस्तक पुर्याउने गरी काम भइरहेको जानकारी दिए ।
ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ ।
मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिएको जनाइएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ ।
उपत्यकामा पछि ढुवानी
केन्द्रबाट छपाइ भएका पुस्तक पोखरा, जनकपुर, नारायणगढमा ढुवानीको केही काम भए पनि विराटनगर, नेपालगञ्ज र धनगढीमा भने समस्या भएको महाप्रबन्धक तिमिल्सिनाले जानकारी दिए ।
ढुवानी गरेर क्षेत्रीय कार्यालयमा पुर्याएपछि डिलरमार्फत् विद्यालय र विद्यार्थीको हातमा पुग्न केही दिन लाग्ने भएकाले ढुवानीलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
काठमाडौं आसपासका ठाउँभन्दा बाहिरको स्थानलाई प्राथमिकता दिएर ढुवानी गरिनेछ । पुस्तकको छपाइमा यस पटक कागजको भने समस्या नरहेको केन्द्रले जनाएको छ ।