
काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज छुट्टै भेला बोलाएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो २ बजे बैठक राखिएको हो। ‘आज चाक्सीबारीमा बैठक बस्ने तयारी छ,’ सिंहनिकट स्रोतले भन्यो।

क्रियाशील सदस्यतामा देखिएका विवाद शीर्ष नेतृत्वबाट हल गर्ने भने पनि अहिलेसम्म हल भएको छैन। बाराका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको २५ दिन भइसकेको छभने रौतहटका कार्यकर्ता दुई सातादेखि धर्नामा छन् ।



बारा, कैलाली, रौतहट लगायत जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन। यसले गर्दा १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित छ। नेताहरूले अब भदौमा महाधिवेशन सम्भव छैन भन्न थालिसकेका छन्।

महाधिवेशन केन्द्रित बैठक आज पौडेल पक्षले गरेको हो। जसमा सभापति शेरबहादुर देउवानिकटबाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइएको छ। सोमबार पनि महामन्त्री शशांक कोइराला निवासमा युवा नेताबीच छलफल भएको थियो। उक्त भेलामा समयमै महाधिवेशन गर्न नेतृत्वलाई खबरदारी गर्नुपर्ने आवाज उठेको थियो। बैठकमा कोइरालाले देउवाको विपक्षमा एउटा मात्रै उम्मेदवार खडा गर्नेतर्फ विचार गर्न आग्रह गरेका थिए ।