पूर्वमन्त्री र आइजीपीबिरुद्ध अपहरणको  उजूरी दर्ता

पूर्वमन्त्री महेश बस्नेत, नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान आइजीपी सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा अपहरण तथा शरीर बन्धकको उजूरी दर्ता भएको छ।

 

बिज्ञापन

यादव अपहरण गरी शरीर बन्धक बनाएर महोत्तरीबाट काठमाडौं ल्याएको दाबी गरेका छन्। उनले गत बैशाख १० गते सत्ता र शक्तिको आडमा आफुलाई अपहरण गरिएको उजूरीमा उल्लेख गरेका छन्।

 

समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आयोगमा पुगेर विहीबार यस्तो उजूरी दर्ता गरेका हुुन्। यादवले तीनजनाको मिलेमतोमा महोत्तरीबाट काठमाडौं ल्याइएको दाबी आयोग समक्ष गरेका छन्। उजूरीमा अपहरण तथा शरीर बन्धकको बिषयमा छानविन गरी दोषीमाथि कारवाही गरी जीवन रक्षाको माग गरिएको छ। यादवले उजूरीमा ‘आफ्नो ज्यूज्यान जोखिम’ मा रहेको बताएका छन्।

 

यादवले आयोग सदस्य प्रकाश वस्ती र मोहना अन्सारीलाई भेटेर उजूरी दिएका हुन्। उजूरी दर्ता गर्न यादवले एकजना कानुन व्यवसायी पनि साथमा लगेका थिए। डा.यादवले महोत्तरीस्थित निवासबाट अपहरणमा परेको दाबी गर्दै आएका छन्। अपहरणको भोलिपल्ट काठमाडौंस्थित मेरियट होटलमा ल्याएर बस्नको व्यवस्था गरेको यादवले बताउँदै आएका छन्। उजूरीसँगै उनले भिडियो रेकर्डसमेत प्रमाणका रूपमा पेश गरेका छन्।

 

‘यादव आफै आएर अपहरण र शरीर बन्धक बनाएको भन्दै उजूरी दिनुभएको छ। उहाँले एउटा भिडियो पनि पेश गर्नुभएको छ’, आयोग सदस्य मोहना अन्सारीले भनिन्, ‘छानबिन गर्ने आयोगको प्रक्रिया छ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक देखिए बृहत् छानबिन गरी मानवअधिकार उल्लंघन भएको हो कि होइन तथ्य यकीन गरी बाहिर ल्याउने छौं’, उनले उजूरीका विषयमा प्रारम्भिक अनुसन्धानका लागि आयोग सचिव वेद भट्टराईलाई निर्देशन दिइसकेको जानकारीसमेत दिइन्।आयोग सदस्य अन्सारीले अपहरण र शरीर बन्धक भए-नभएको विषयमा अनुसन्धान गरिने बताइन्।

 

आयोग स्रोतका अनुसार उजूरी दिन पुगेका डा.यादवले आयोग सदस्यसँग आपूmलाई कुर्था र पाइजामासँगै निवासबाट उठाएर काठमाडौं ल्याएको बताएका थिए। ‘मलाई पातलो कुर्था र पाइजामासँग काठमाडौं ल्याए, मलाई काठमाडौंमा निकै जाडो लाग्यो। बाक्लो कपडासमेत राख्न पाइनँ’, डा.यादवले आयोगमा यसरी गुनासो राखेका थिए।

 

यसैबीच आयोगले बिहीबारै प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर टेकुलाई परिपत्र गर्दै घटनाको विषयमा स्पष्ट पार्न भनेको छ। ‘प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ। प्रहरी निकायबाट अपरहरण र शरीर बन्धकको बिषयमा जानकारी मागेका छौं’, आयोग सचिव वेद भट्टराईले भने, ‘उताबाट जानकारी आएपछि अपहरण हो या होइन भनेर मानवअधिकारको दृष्टिबाट आवश्यक निर्णय लिन्छौं।’

 

यसअघि डा.यादव, उक्त पार्टीका नेता डा.भट्टाईलगायत अपहरणको जाहेरी दिन महानगरीय प्रहरी परिसर गएका थिए।