
काठमाण्डौ – नेपाली कांग्रेसले लकडाउनका कारण घर जान पैदलै हिँड्न बाध्य भएका नागरिकलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ ।




कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा सात दिनको लकडाउन लम्बिएर महिना दिन पुग्न लाग्दा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नरहेका नागरिकलाई पर्याप्त राहत र अप्ठ्यारोमा रहेकालाई सुरक्षित ढङ्गले गाउँ पुर्याउने प्रबन्ध मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरिएको छ ।

गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएका बेला सरकारको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो ? विज्ञप्तिमा प्रश्न गरिएको छ । आयोगलाई अरबौँ रुपैयाँ छुट्याउन सक्ने सरकारले सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरामा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न नसकेको कांग्रेसको दाबी छ ।
कोरोनाबाट जोगाउन व्यापक परीक्षण तथा भोकमरीबाट जोगाउन पर्याप्त राहत आवश्यक रहेको भन्दै विज्ञप्तिमा सरकारले जिम्मेवारी एवं जवाफदेहीताको गति बढाउन नसके नेपालमा भयावह स्थिति उत्पन्न हुन सक्ने चेतावनी पनि दिइएको छ ।
‘अहिलेको समय भावनामा बगेर बोल्ने बेला होइन, तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतिक्षा गर्ने समय पनि होइन’, विज्ञप्तिमा भनिएको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुपर्याे, सुनिन्छ भने सुन्नुपर्याे, बुझिन्छ भने बुझ्नुपर्याे सरकार ।