प्रदेश ५ मा आजदेखि ‘आरडीटी’बाट काेराेना परीक्षण हुँदै

रुपन्देही – प्रदेश ५ मा शुक्रबार (आज) देखि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण हुने भएकाे छ । प्रदेश ५ का १२ जिल्लामा रहेका क्वरेण्टीनमा बसेकाहरुको आजदेखि आरडीटीबाट कोरोना परीक्षण हुने भएकाे  हाे ।

 

बिज्ञापन

सामाजिक विकास मन्त्रालयका अनुसार दुई हप्तादेखि क्वरेण्टीनमा बसेकोहरुको आरडीटीबाट कोरोना परीक्षण गर्न लागिएको हाे । परीक्षणकाे रिर्पोट ‘नेगेटिभ’ आए घर पठाइने छ भने ‘पोजेटिभ’ आए स्वाब परीक्षणका लागि नमुना सङ्कलन गरिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।

 

सङ्घीय सरकारले पठाएको पाँच हजार किट प्रदेश ५ आइपुगेको छ । परीक्षणका लागि दुई-दुई जिल्ला हेर्ने गरी ६ वटा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको छ । प्रदेश पाँचमा रहेका तीन सय आठ क्वरेण्टीनमा कोरोनाको आशङ्कामा दुई हजार पाँच सय ७२ जना रहेका छन् ।

 

प्रदेशभित्र एक सय ८८ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय ३२ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ५६ जनाको रिर्पोट आउन बाँकी छ । कोरोनाको आशङ्का गरिएका एक सय ८२ मध्ये २६ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य महाशाखाले बताएको छ ।

 

मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्क्रमणको जोखिम घटाउनका लागि र्पापिड टेस्ट किटमार्फत परीक्षण गर्न लागिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयमा सबै विवरण दिन सरोकारवालाहरुसँग आग्रह गर्नुभएको छ ।

 

यसैबीच रुपन्देहीको शङ्कर नगरमा रहेको क्वरेण्टीनमा रहेका १० जनाको बिहीबार आरडीटी किटमार्फत परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार बिपि गौतमले जानकारी दिनुभयो ।