कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी ,चिनियाँ जेलमा पनि देखियो सङ्क्रमण

एजेन्सी : कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

 

बिज्ञापन

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।

 

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुग्नुको साथै ७५ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।

 

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

 

चिनियाँ कारागारमा पनि कोरोना भाइरसबाट सङ्क्रमित

 

शुक्रबार चिनियाँ अधिकारीहरुले जनाएअनुसार चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको हो ।

 

यस प्राणघातक रोगको सङ्क्रमण रोक्ने प्रयासहरु चिनियाँ अधिकारीहरुले खोजिरहेका बेला थुनामा रहेका व्यक्तिमा समेत यस्तो अवस्था पाइएको खबरले यस महामारीको विषयमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

 

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २०० कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको बताइएको छ ।

 

कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताए।

 

यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएपछि सो कारगाराका निर्देशकले जानकारी दिएका छन् ।

 

गतवर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको बताइएको छ ।

 

हुबेई प्रान्तमा बिहीबार ४११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि गरेको थियो । तर केही समयपछि कारगारमा देखिएको सङ्ख्यासहित ६३१ जनामा सो भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको छ ।