संघीय संसदको नयाँ भवन बनाउने प्रकृया  शुरु

काठमाडौं : संघीय संसदको बैठक चल्ने र्सिंहदरबारस्थित भवनलाई २०७२ सालमा गएको भुकम्पले क्षति पुर्याएपछि नयाँ भवन बनाउने प्रकृया बल्ल शुरु भएको छ । चार वर्षसम्म संसद भवन नहुँदा चीन सरकारले बनाईदिएको नयाँ बानेश्वारस्थित अन्तराष्ट्रिय सम्मेलनकेन्द्रमा संसद बैठक बस्दै आएको छ ।

 

बिज्ञापन

लामो समयसम्म संसद भवन नहुँदा एकातिर यसबीचमा भएका सरकारहरुमाथि नै प्रश्न उठ्दै आएको थियो भने अर्कातिर एकमात्र अन्तराष्ट्रिय सम्मेलनकेन्द्र संसदले लिएपछि विभिन्न कार्यक्रमहरु आयोजना गर्न कठिनाइ हुँदै आएको थियो ।

 

अहिले सिंहदरबारको उत्तर–पूर्वस्थित पुतली बगैँचाको एक सय ७६ रोपनी आठ आना क्षेत्रफलमा संघीय संसद भवन निर्माण कार्य अगाडि बढेको छ ।

 

अहिले संसद भवनको डिजाइन र डिपिआरको काम सकेर भवन निर्माणको कामलाई तीब्रता दिइएको सहरी विकास मन्त्रालयका प्रवक्ता केशवप्रसाद दवाडीले जानकारी दिएका छन् । भवन निर्माणका लागि उक्त क्षेत्रमा जग खन्न्ने, गिट्टी बालुवा थुपार्नेलगायतको काम सुरु भएको छ । भवन निर्माणको लागत करिब १० अर्ब रहेको पनि प्रवक्ता दवाडीले बताए ।

संघीय संसद भवन नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने प्रवक्ता दवाडीले जानकारी दिए । अहिले नयाँ बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र संघीय संसद भवनका रूपमा प्रयोगमा रहेको छ । २०६५ सालदेखि भाडामा लिइएको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई अहिले सरकारले मासिक १५ करोड रुपैयाँ भाडा तिर्दै आएको छ ।

 

भवन निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखिएको सहरी विकास विभागका विशेष भवन योजना महाशाखा प्रमुख पद्म मैनालीले जानकारी दिए । तोकिएको समयभित्र नै काम सक्नेगरी काम थालिएको पनि मैनालीले जानकारी दिए । मन्त्रालयले भवन निर्माणको काम २०७८ साल असार मसान्तसम्ममा सक्ने लक्ष्य लिएको छ ।

 

संसद भवन विशेष खालको बन्ने भएको छ । संघीय संसद भवनको परिसरमा माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र हल तथा करिब तीन सय जना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै संघीय संसद भवनमा तीन तले स्मार्ट पार्किङस्थल समेत निर्माण गरिने छ । त्यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुवै संसदका सदस्यहरू र विशिष्ट पाहुनाहरूसमेत अटाउने एक हजार क्षमताको विशेष सभाहल पनि निर्माण गरिनेछ ।

 

उक्त निर्माणाधीन संघीय संसद भवनको गत १ असोजमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए भने संघीय संसद भवन निर्माणको ठेक्का टुन्डिल जेभी कम्पनीले पाएको छ ।