विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस नियन्त्रणमा चीनले चालेको कदमको प्रशंसा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेका कदमको प्रशंसा गरेको छ । संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ।

 

बिज्ञापन

डब्लुएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरे। प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लुएचओले प्रशंसा गरेको हो ।

 

स्वीट्जरल्यान्डको जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए ।

 

जेनेभास्थित राष्ट्रसंघका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लुएचओको सुझाव विपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्। महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गरेका छन् ।

 

अहिलेसम्म २२ देशहरूले चीनमा यात्रा र व्यापार प्रतिबन्ध लगाएकामा टेड्रोसले ती छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा हुनुपर्ने बताए ।

 

कोरोना भाइरसका कारण अहिलेसम्म ४ सय ९२ जनाको मृत्यु भइसकेको छ भने विश्वभर २४ हजारभन्दा धेरै मानिसमा यसको संक्रमण फेला परेको पुष्टि भएको छ।

 

डब्लुएचओले प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भने पनि त्यो ‘महामारीको अवस्थामा नपुगेको’ जनाएको छ।