नेपाली विद्यार्थीकाे चीनबाट उद्धार गर्न २ वटा जहाज तयारी अवस्थामा छ : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बोर्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् ।

 

बिज्ञापन

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको दाबी गरे । चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत छन् ।

 

अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताए ।

 

‘आवश्यक पर्‍यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहन भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने ।

 

बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफूहरुलाई विश्वस्त बनाएको उनको भनाइ छ । कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको दृष्टान्त दिए । ‘यहि होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्ने गर्दछन् , हामी जोगिनुपर्छ’, उनले भने ।

 

नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैलाई आग्रह गरे । विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनीलगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए ।