झापाको गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको उद्घाटन

झापा — झापाको गौरीगंज –६ स्थित तल्लो रामचन्द्र सिंचाई आयोजना उद्घाटन गरिएको छ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नहरको मुहानमा राखिएको रेगुलेटर घुमाई आयोजनाको उद्घाटन गरे ।

२०७५ साल असार २१ गते सुरु भएको आयोजनाको निर्माण कार्य २ वर्षको समयावधिमा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले प्रदेश नं. १ भरि यस वर्ष जम्मा ५ वटा आयोजना सञ्चालनमा आउने र त्यसमध्येका सिंचाई आयोजनाको हकमा रामचन्द्र सिंचाई पहिलो आयोजना सञ्चालनमा आएको बताउदै गरिबी निवारणमा यसले महत्वपुर्ण भुमिका खेल्ने बताए । गौरीगंज गाउँपालिका वार्ड नं. ५ र ६ का करिब ७ विघा जमिन सिंचाई हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरु लाभान्वित हुनेछन् ।

बिज्ञापन

जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरको आयोजनमा भएको उद्घाटन कार्यक्रममा आयोजनाको ठेक्का लिएका नयाँबाटो शिवाको सताक्षी जेभीका प्रतिनिधीलाई समयमै काम सम्पन्न गरेकोमा प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रदेश नं. १ सरकारले छुट्टाएको करसहित ८ करोड ७९ लाख २० हजार रुपैयाँबाट निर्माण भएको उक्त आयोजनाको सम्पुर्ण कार्यहरु सम्झौता अनुसार सम्पन्न भएको हो । नहरको मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको जलस्रोत तथा सिचाई विकास डिभिजन झापाका इन्जिनियर अनिल कुमार महतोले जानकारी दिए ।