
काठमाण्डौ – स्थायी लेखा नम्बर प्यान लिनेको संख्या झण्डै साढे ३१ लाख पुगेको छ । गएको असारयता प्यान लिनेको संख्या १० लाखभन्दा धेरैले बढेको र पुस मसान्तसम्म ३१ लाख ३१ हजारले प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ ।




असारमा प्यान लिनेको संख्या २१ लाख ७२ हजार थियो । सरकारले बजेटमार्फत एक हजार रुपैयाँभन्दा माथिको कारोबारमा प्यान नम्बर अनिवार्य गरेपछि प्यान लिनेको संख्या ६ महिनामै झण्डै ४५ प्रतिशतले बढेको हो ।

पुससम्म व्यवसायिक प्यान लिने १३ लाख २३ हजार रहेका छ्न भने व्यक्तिगत प्यान लिने १८ लाख ५ हजार छन् । नयाँ व्यवस्थाअनुसार सरकारी, गैरसरकारी र निजी सबै संस्थाले तलब बैंकमार्फत नै दिनुपर्छ र बैंकमार्फत तलब दिँदा र लिँदा प्यान अनिवार्य गरिएको छ ।
कुनै संस्थाले कर्मचारीलाई प्यानबिना तलब दिएमा त्यो तलब खर्चमा गणना नगरिने आर्थिक ऐनमा उल्लेख छ । यस्तै पुस मसान्तसम्म मूल्य अभिबृद्धि कर भ्याटमा दर्ता भएका करदाता २ लाख ४६ हजार छन् ।
पछिल्लो ६ महिनामा ३४ हजार १ सय भ्याटका नयाँ करदाता थपिएका छन् । यस्तै अहिलेसम्म अन्तशुल्कमा दर्ता हुने करदाता ९५ हजार ६ सय रहेको अर्थ मन्त्रालयले जनाएको छ ।