आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने :प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले वर्तमान सरकार पैसाका पछि नकुदेको दाबी गरेका छन् ।यतीलाई जग्गा लिजमा दिने विषयलाई लिएर हल्ला फैलाइएको भन्दै ओलीले आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताएका छन् ।

 

बिज्ञापन

उनले यती होल्डिङ्सको विषयमा घनिष्ठ साइनो हो कि मितेरी साइनो हो कि भनेर प्रश्न उठाइनु बेकार भएको बताए । उनले यो प्रकरणमा जननेता मदन भण्डारीसमेतलाई जोडेर हौवा फिँजाइएको भन्दै असन्तुष्टि जनाए ।

 

‘हुम्डे भन्ने रिसोर्ट १२ वर्षअघि चलेको रहेछ । त्यसलाई पनि यतीसँगै जोडिएको छ । १ रोपनी जति जग्गा लिजमा दिइएको रहेछ । मिस्टेकले ६ अर्ब लेखिएको रहेछ । १ अर्ब हुनुपर्नेमा । जग्गाको मूल्यभन्दा पनि धेरै रकममा लिजमा दिइएको रहेछ, यसैलाई लिएर कराउनु जरुरी छैन,’ उनले भने ।

गोकर्ण रिसोर्ट प्रतिस्पर्धात्मक मूल्य निर्धारण गरेर दिएको भन्दै उनले सरकार कुनै अमुक व्यापारीका पक्षमा नरहेको र नरहने बताए ।

 

एमसीसीको विषयमा बाेल्दै उनले कृष्णबहादुर महरा परराष्ट्रमन्त्री हुँदा जुलाई २१, २०१७ मा पार्लियामेन्टबाट अनुमोदन गर्न र क्याबिनेटबाट अनुमोदन गर्न प्रतिवद्धता जनाएको बताए ।

त्यसपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच वर्षभित्र पूरा गर्नुपर्ने र इण्डो प्यासिफिकसँग सम्बन्धित नभएकोमा नेपाललाई आश्वस्त पारिसकेको स्मरण गरे ।

 

‘४९ देशसँग यो सम्झौता भएको छ । कुन देशको हिडन इन्ट्रेस्टमा हामी पछि कुद्नु पर्दैन । कुनै देशको के इन्ट्रेस्ट होला भनेर पछि कुद्नु जरुरी छैन । हाम्रो सोर्भन्टीमा यो सम्झौताले कुनै असर गर्दैन । यसभित्र दुईमध्ये कुनै पनि एक देशले चाहेर सूचना दिएमा रद्द हुन्छ । कानुनी शासन र लोकतन्त्रलाई संस्थागत गर्न ध्यान दिनुपर्छ भनेर अमेरिकाले भनेको थियो । हाम्रो सार्वभौमसत्तामा वा स्वाधीनतामा असर पर्ने होइन,’ उनले भने ।