
दमक / साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २२.३५ अङ्कले घटेर २६८४.०१ को विन्दुमा झरेको हो ।

बजारसँगै कारोबार रकममा पनि केही गिरावट आएको छ । दिनभरमा कुल ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँभन्दाको शेयर किनबेच भएको छ । आज बजारमा कुल ७१ हजार ३१३ पटकको कारोबारमा १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।



आज कारोबारमा आएका कुल ३११ स्क्रिपमध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा ३९ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।

उच्च गिरावटका बाबजुद आज होटल तथा पर्यटन तथा म्युचुअल फण्ड समूहका परिसूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.७६ प्रतिशतले घटेको छ । बजार समग्रमा ओरालो लागे पनि माथिल्लो मैलुङखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशत र भगवती हाइड्रोपावरको ४.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १७ लाख रुपैयाँको कारोबार भएका छन् ।