
सुनसरीको कोशी गाउँपालिका–१ लौकही भन्सार नजिकबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धरान–१७ का २३ वर्षीय मनिष लिम्बु र इनरुवा–११ का १९ वर्षीय मनिष राई स्कुटरमार्फत नेपाल प्रवेश गर्दै थिए। मनिष लिम्बुको मलद्वारबाट ५.९४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको छ। यस्तै, पैदल आउँदै गरेका कोशी–४ का सम्साद मियाको साथबाट नाइट्रोजेपाम ट्याब्लेट ६ पिस, स्पास्मो प्रोक्सीभोन ९ पिस र ४०० ग्राम गाँजा बरामद भएको छ।



इनरुवा–४ का शिवदेव खत्वे र ऐन्याथोक–३ का नितेश स्वर्णकार पनि लागुऔषधसहित पक्राउ परेका छन्। खत्वेको साथबाट ०.२५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ भेटिएको छ। प्रहरीले उनीहरूलाई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ।
