
काठमाडौं। प्रभु बैंक लिमिटेडका सीइओ अशोक शेरचनसँगको निकटतम सम्बन्धको आडमा बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्तमाथि स्रोतको चरम दुरुपयोग, अनियमितता, स्वार्थ बाझिने गरी नातावाद हावी हुने गरी नियमविपरीतका कार्य गर्दै आएको गम्भीर आरोप लागेको छ।

पन्तले बैंकभित्र रहेर गर्दै आएका नियमविपरितका कार्यले उनीमाथि अनुशासनहीनताको आरोप लाग्दै आएको छ भने यसले उनको नैतिकतामाथि समेत प्रश्न उब्जाएको छ। त्यस्तो त सिङ्गो प्रभु बैंकनै पन्तकै निर्देशनमा चल्छ भन्दा फरक पर्दैन।



सीइओ शेरचनकै आडमा पन्त बिहान ११:०० देखि ११:३० बजे मात्र उपस्थित हुने गरेकी छन्, जुन बैंकको तोकिएको समयसीमा विपरीत हो। त्यस्तै पन्तले स्वार्थ बाझिने गरी आफ्नै सहोदर भाइलाई कानूनी सल्लाहकार नियुक्त गरेकी छन्। यतिमात्र होईन, उनले बैंक स्रोतको व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको भेटिएको छ। प्राप्त विवरण अनुसार उनले दिनहुँ बसेरा बुटिक होटलबाट भोजन मगाएर खाने गरेकी छन् जसको भुक्तानी बैंकबाट गरिने गरेको भेटिएको छ।

त्यसैगरी पन्तले स्वार्थ बाझिने गरी विवादास्पद कारोबार गर्दै आएको भेटिएको छ। पन्तले बैंकको ऋणीसँग कम मूल्यमा जग्गा खरिद गरी सोही सम्पत्ति ऋण चुक्ता नहुँदै रिहा गरिएको तथ्य फेला परेको बैंकका अधिकांस विभाग कब्जा गरेकी पन्तले एचआर, खरिद, र विज्ञापन जस्ता बैंकका प्रमुख निर्णयहरूमा प्रत्यक्ष हस्तक्षेप गर्दै आएकी छन्। उनले बैंकको स्रोतलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गर्दै आएकी छन् ।
पन्ताले कर्मचारी नियुक्तिमा समेत हस्तक्षेप गर्दै आएकी छन्। उनले बैंकमा करिब २०० कर्मचारीहरू आफ्ना नातेदार तथा आफ्नो क्षेत्र (सुदूरपश्चिम) का भर्ती गरेको भेटिएको छ । पन्तले भर्ती गरेका तिनै व्यक्ति नेतृत्व तहमा छन् । मानव संसाधन प्रमुख, खुद्रा क्रेडिट प्रमुख, सामान्य सेवा विभाग, एसएमइ र कर्पोरेट प्रमुख सबै उनकै क्षेत्रका छन्।
बैंक छिरेको ९ बर्षमै अकुत सम्पति
पन्तले प्रभु बैंकमा जागिर सुरु गरेको ९ बर्ष मात्रै भएको छ। २०७२ सालमा जूनियर अफिसरबाट बैंक छिरेकी पन्त २०८१ सालमै अर्थात् ९ बर्षमै असिस्टेन्ट जनरल म्यानेजर (AGM) बनेकी छन्। बैंक स्रोतका अनुसार सीइओ शेरचनले उनलाई साउनमा पुन : बढुवा गर्दैछन्। जबकी उनीभन्दा सिनियर कर्मचारी वर्षौंदेखि बढुवा भएका छैनन्।
हाल उनीसँग व्यक्तिगत सम्पत्ति करिब ५० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ, जुन उनको तलब स्केलसँग मेल खाँदैन। शेरचनले निकट रहेकी पन्त बैंक प्रवेश गरेदेखि आजसम्म ९ बर्षमा १० पटक बढुवा गराइसकेका छन् तर उनी केन्द्रीय कार्यालयबाहेक कतै सरुवा भएकी छैनन्। पन्तलाई सिइओसँगको निकट सम्बन्ध रहेको थाहा भएपछि कार्यसम्पादनमा असर परेको भन्दै सञ्चालक समितिले पुतली सडक शाखामा सरुवा गर्यो तर शेरचनले सञ्चालक समितिनै परिवर्तन गरी पन्तलाई केन्द्रीय कार्यालयमै राखेका छन्।
पछिल्लो समय बैंकको वित्तीय अवस्था निकै नाजुक छ। त्यसमाथि उनलाई प्रमुख व्यवसाय अधिकृत (CBO)पदमा नियुक्तिपछि बैंकको क्रेडिट गुणस्तरमा भारी गिरावट आएको छ, गैर-प्रदर्शनकारी सम्पत्ति (NPA) दरमा वृद्धि भएको छ, व्यवस्थापन समितिका सदस्यहरूलाई MIS प्रतिवेदनहरू उपलब्ध गराइएको छैन। चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको अनुमानित वितरणयोग्य नाफा नकारात्मक ५ अर्ब रुपैयाँमा रहने प्रक्षेपण गरिएको छ। आफ्नै हात जगन्नाथ भनेझै विदेश भ्रमणमा पन्तले वार्षिक रूपमा ३/४ वटा विदेशी भ्रमणहरू बैंककै खर्चमा गर्ने गरेकी छन्, जसको उदेश्य तथा औचित्य स्पष्ट पारिएकोछैन। त्यस्तै बैंकले पन्तलाई छुट्टै व्यक्तिगत चालक सेवा उपलब्ध गराएको छ, जबकी अन्य वरिष्ठ कर्मचारीहरूले सामन्य सेवा सुविधा समेत पाएका छैनन्।
राष्ट्र बैंक निकम्मा
प्रभु बैंक भित्रको चरम अनियमितता एवं बेथितिमा सम्बन्धमा बैंककै कर्मचारी एवं लगानीकर्ताले नेपाल राष्ट्र बैंकमा दर्जनौं उजुरी तथा गुनासो दर्ता गराएका छन्। राष्ट्र बैंकबाट हुने नियमित सुपरिवेक्षणबाट समेत बैंकका कर्मचारीदेखि संचालकसम्मका भ्रस्टाचार भएका बिषय औंल्याइएको छ। तर निरीक्षणमै जाने कर्मचारीनै एक बोतल रक्सी र एउटा लोकल खुखुराको झोलमै बिकिदिएपछि उक्त बिषयमाथि राष्ट्र बैंकले कारबाही गर्ने आँट गरेको छैन्। हालैमात्र पनि बैंकको इन्सपेक्सन चल्दाचल्दै राष्ट्र बैंकका एकजना अधिकारी बैंकका सीइओसँग आफ्नो परिवार नै बोकेर लोकल कुखुरो खान दोलखा पुगे। फर्केपछि बोर्डमा सीइओको ब्रिफिङ थियो- ‘राष्ट्र बैंक मिलाईसके. चिन्ता नलिनुस्।’
यस सम्बन्धमा प्रतिक्रिया बुझ्न खोज्दा पन्त सम्पर्कमा आउन चाहिनन् भने शेरचनले जवाफ दिएनन्।