
दमक / सप्तरीमा जबर्जस्ती करणीको अभियोगमा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका भोलिपल्टै आरोपितले जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरमै ‘सेलेब्रेसन’ गरेको घटनाको अनुसन्धान सुरु भएको छ।

सम्बन्धित समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले बुधबार प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो। टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर अनुसन्धान प्रारम्भ गरेको छ। एसपी रञ्जितकारको संयोजकत्वमा आएको टोलीले घटनामा संलग्न सबै व्यक्तिहरूको बयान लिने कार्य सुरु गरेको छ।



“घटनामा संलग्न सबैसँग बयान लिइनेछ, साथै बलात्कार मुद्दासम्बन्धी मिसिल पनि अध्ययन गरिन्छ,” अनुसन्धान टोली प्रमुख एसपी रञ्जितकारले बताए। ०८१ असोजमा राजविराज नगरपालिका–६ का आकाश आदर्शविरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जबर्जस्ती करणी र धम्कीसम्बन्धी जाहेरी परेको थियो। जाहेरी अनुसार, आदर्शले आफैँ सञ्चालन गर्दै आएको राजविराजस्थित ‘तन्दुरी रेस्टुरेन्ट’मा काम गर्ने एक महिलामाथि बलात्कार गरी भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी निरीक्षक मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकेको थियो।

श्रेष्ठको हालै चितवनमा सरुवा भइसकेको छ। गत ४ जेठमा अदालतबाट सफाइ पाएका आदर्शले भोलिपल्ट अनुसन्धान अधिकृत निरीक्षक श्रेष्ठको जन्मदिनको बहानामा सेलेब्रेसन गरेका थिए। उक्त कार्यक्रममा डिएसपी बस्नेत, प्रहरी निरीक्षक मनीष श्रेष्ठ, निरीक्षक उदयकुमार राई र सफाइ पाएका आकाश आदर्श स्वयं सहभागी भएको स्रोतले जनाएको छ।
सेलेब्रेसन जिल्ला प्रहरी कार्यालय परिसरमै गरिएको बताइएको छ, जसको विषयमा अहिले अनुसन्धान भइरहेको छ।