
बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका आकाश आदर्शसँग प्रहरीले जन्मदिन मनाएको तस्बिर सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानबिन थालेको छ। राजविराज–६ का आदर्शले जेठ ४ गते बलात्कार मुद्दाबाट सफाइ पाए। त्यसको भोलिपल्ट, जेठ ५ गते, प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउन जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको क्वार्टरमा आयोजना गरिएको पार्टीमा आदर्श पनि सहभागी थिए। उक्त तस्बिर बाहिरिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो। बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति रामहरि खतिवडाले प्रहरी महानिरीक्षक (आईजिपी) दीपक थापासँग उक्त घटनाबारे प्रश्न गरेका थिए। प्रश्नको जवाफमा आईजिपी थापाले मधेस प्रदेश प्रहरी कार्यालयलाई घटनाको छानबिन गर्न निर्देशन दिइसकेको जानकारी दिए। “इन्स्पेक्टरको बर्थडे रहेछ। उनले लिएर डिएसपीको क्वार्टरमा बसेको फोटो आएको छ,” आईजिपी थापाले भने, “यसलाई नोटिसमा लिएर प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ।




