
सप्तरी । सप्तरी जिल्ला, कञ्चनरुप नगरपालिका– ५ रामपुरकी सुनितादेवी सदा (४५) अहिले हरेक दिन कुन वेला प्रहरी हतकडी लगाउन आउँछ भन्ने डरैडरमा बाँचिरहेकी छन् ।उनका श्रीमान् कामका सिलसिलामा भारतमा छन् । छोरा पनि भारतमै छन् । उनी बुहारीहरुसित बस्छिन् ।कोशी टप्पु क्षेत्रमा पुस्तौंदेखि बस्दै आएकी मुसहर सुनितादेवीको आफ्नो जमिन छैन । सानो टहरा अड्याएकी उनको त्यही जमिन पनि अरु कसैको नाममा छ । तर, कसको नाममा छ ? उनलाई थाहा पनि छैन ।पढलेख गर्न नजान्ने सुनितादेवीको दैनिकी ज्यालामजदुरी गर्नु हो । त्यसवापत् दैनिक जति पैसा वा अन्न आउँछ, त्यसैले जीविकोपार्जन गरिरहेकी छन् । कोशी टप्पुबाट आउने ठूल्ठूला जंगली हात्तीको भन्दा उनलाई ठूलो डर प्रहरीको छ । उनको गाउँमा पसेका हात्तीलाई त जसोतसो धपाउँछिन् । तर, जब उनको टोलमा नयाँ मान्छे छिर्छन्, प्रहरी ठानेर उनी घरबाट जंगली हात्ती भएको जंगलतिर गएर लुक्छिन् ।हरेक रात उनलाई निदाउनै सकस पर्छ । उनी सुकेको आँखा भिजाउँदै भन्छिन्, ‘प्रहरीको डर त छँदैछ । कहिलेकाहीँ त भोकै पनि सुत्नुपर्छ । मैले लिएको ऋणकै कारण बुहारीले मलाई भात पनि दिन्नन् ।’सुनितादेवीको यस्तो दयनीय दिनचर्या २०७३ सालबाट सुरु भएको थियो । उनले गाउँकी सुदखोर सरिता ठाकुरबाट ७० हजार ऋण लिएकी थिइन्, त्यो पनि कपाली तमसुकमा हस्ताक्षर गरेर । छोरोलाई कतार पठाउन लिएको उक्त ऋणले यस्तो भयावह दिन निम्त्याउँछ भनेर उनले सोचेकी पनि थिइनन् ।

सरिता ठाकुरबाट लिएको ७० हजारको साँवा–ब्याज गरी सुनितादेवीले एक वर्षमै ३ लाख ५० हजार बुझाइसकेकी थिइन् । उक्त पैसा चुक्ता गरेपछि उनले सरितासँग कागज फिर्ता मागिन् । तर, सरिताले कागज दिनुको साटो सुनितादेवीलाई थर्काउँदै भनिन्, ‘तिमीले अझै मलाई ४ लाख दिन बाँकी छ । त्यति रकम पाएपछि मात्रै कागज फिर्ता गर्छु । नदिए जेल हालिदिन्छु ।’सुनितादेवी छाँगाबाट खसेझैं भइन् । त्यसपछिका दिनहरुमा पनि उनले धम्की सुनिरहिन्, सरिताले धम्की दिइरहिन् । एक वर्षपछि एक दिन सरिता प्रहरीहरुसहित सुनितादेवीको घरमा आइन् । उनको घरमा भए जत्ति सबै सामान उठाएर लगिन् । घरमा एक्लै भएकी सुनिताकी ६९ वर्षीया वृद्ध सासूमाथि कुटपिट गरिन् । वृद्ध सासू सरिताको त्यही पिटाइले करङमा समस्या बोकेर बाँचिरहेकी छन् ।घर आएर सबै सामान उठाएर लगेकी सरिताले ती सामान इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुर्याइन् । भोलिपल्ट सुनितादेवी प्रहरी कार्यालय पुगिन् । त्यहाँ उनलाई भनियो, ‘सामान लिन्छस् कि पैसा फिर्ता दिन्छस् ।’अन्ततः सरिता र प्रहरी प्रशासनको दोहोरो धम्कीले गलिन् उनी । हतारहतार अर्को ठाउँबाट ऋण खोजेर सरितालाई डेढ लाख बुझाइन् । अनि आफ्नो सामान फिर्ता ल्याइन् । तर, प्रहरीहरुको रोहबरमा बुझाएको त्यो डेढ लाखको न कुनै कागज छ न त कुनै प्रमाण । सुनितादेवी भने प्रहरीको अगाडि पैसा बुझाएकाले त्यही प्रमाण हो भनेर हिँडिरहेकी छन् ।



निमुखा सुनितादेवीमाथि सरिताको शोषण यत्तिमै सीमित भएन । ७० हजारको साढे पाँच लाख बुझाइसक्दा पनि सरिताको शोषणबाट छुटकारा नपाएकी सुनितादेवी त्यसवेला झन् अप्ठेरोमा परिन्, जब सरिताले जिल्ला अदालत सप्तरीमा उनीविरुद्ध मुद्दा हालिन् । अदालतको छेउछाउ पनि नपुगेकी, कानुनबारे अलिकति पनि ज्ञान नभएकी सुनितादेवीलाई अदालतमा झिकाइयो । अदालतमा उनले के बोलिन्, उनैलाई थाहा छैन ।तर, उनले के चाहिँ थाहा पाइन् भने सरिताले ३ लाख साँवा दिएको र त्यसको ब्याजसहित ३ लाख ८५ हजार रुपैयाँ फिर्ता गरिपाउँ भनेर मुद्दा दायर गरेकी रहिछन् । ७० हजार साँवा अचानक ३ लाख कसरी भयो ? उनलाई थाहै थिएन । ७० हजार लिँदा नै सरिताले ३ लाख साँवा बनाएर ल्याप्चे लगाइदिएकी थिइन् ।सरिताले दाबी गरेअनुसारको ३ लाख ८५ हजार तिर्न नसक्ने भएपछि अदालतले फैसला सुनाइदियो कि सुनितादेवीले ६ महिना कैद भुक्तान गर्नुपर्नेछ । २०७७ साल पुस २४ गते न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासबाट यस्तो फैसला आएपछि सुनितादेवी बेपत्ता भइन् ।एक महिनासम्म कता गइन्, न प्रहरीलाई थाहा भयो न त उनको परिवारलाई नै । तैपनि उनको खोजखबरसम्म कसैले गरेन । घरमा भात खान नदिने बुहारीले चासो दिएनन् । भारतमा मजदुरी गरिरहेका श्रीमानले सुनिता वेपत्ता भएकै थाहा पाएनन् ।

सुनिता बेपत्ता भएकै बेला २०७८ साल चैत २० गते अदालतले उनको घरमा सात दिने सूचना टाँस गर्यो । त्यहाँ लेखिएको थियो, ‘… सरिता ठाकुर र प्रतिवादी तपाईं भएको लेनदेन बिगो मुद्दामा तपाईंले वादीको बिगो दाखिला नगरेको र जेथासमेत नदेखाएको हुँदा तपाईंलाई उक्त विगो रकमवापत ६ महिना कैद राख्न सिधा खर्चसमेत दाखिला गरी निवेदन गरेको हुँदा यस अदालतको मिति २०७८–११–२० गतेको आदेशअनुसार तपाईंको नाउँमा सात दिने म्याद सूचना जारी गरिएको छ । तपाईंले यो म्याद सूचना पाएको मितिले ७ दिनभित्र फैसलाबमोजिमको विगो वा जेथा देखाइ आउनुहोला । सो अवधिभित्र फैसलाबमोजिमको रकम नल्याएमा वा जेथा नदेखाएमा कानुनबमोजिम हुनेछ । पछि तपाईंको उजुर लाग्ने छैन ।’सूचना टाँसपछि गाउँलेहरुले खोजेर सुनितादेवीलाई घरमा ल्याए । घरमा आए पनि उनलाई एकै कुराको डर छ, कुन दिन प्रहरी उनको घरमा हतकडी लिएर आइपुग्नेछ र उनलाई समातेर जेलमा कोच्नेछ ।हामी सुनितादेवीको घरमा पुग्दा उनी जंगल पसेकी थिइन् । हामीसँग कुरा गर्न गाउँलेसमेत मानिरहेका थिएनन् । तर, सुदखोर पीडितहरुलाई संगठित गर्दै हिँडिरहेका अभियन्ताहरु संघर्ष दाहाल र मनोज पासवानले गाउँलेलाई सम्झाएपछि उनीहरु कुरा गर्न तयार भए । दुवै अभियन्ताले मैथिली भाषामा आफूहरु पुलिस नभएको र कुरा गर्न आएको बताएपछि गाउँलेले कोशी टप्पुको जंगलमा लुक्न पुगेकी सुनितादेवीलाई खोजेर ल्याए ।
हाम्रो अगाडि रुँदै सुनितादेवीले भनिन्, ‘तपाईंहरु जस्तै पुलिसले मलाई खोजिरहेका छन् । कुन दिन मलाई पक्रेर जेलमा कोच्नेछन् । जेलमा जानुपर्यो भने त म झुण्डिएर मर्छु । मलाई बुहारीले खान नदिए पनि यही घरमा मर्न चाहन्छु । जेल जान चाहन्नँ म ।’अदालतले फैसला गरे पनि सुनितादेवीलाई पक्राउ गर्न प्रहरी आइसकेको छैन । तर, अझै पनि सरिता ठाकुरले भने निरन्तर धम्की दिइरहेकी छन् । पैसा नतिरेमा जेल पठाइदिने भन्दै ४ लाख मागिरहेकी छन् । सुनितादेवी भन्छिन्, ‘मैले कहाँबाट पैसा ल्याएर दिनू सर ! मेरो रगत बिक्री हुने भए यही रगत बेचेर उसलाई पैसा दिने थिएँ । मसँग उसको पैसा तिर्नलाई बाँकी केही पनि छैन ।’सरिताबाट पीडित सुनितादेवी एक्ली भने होइनन् । त्यस ठाउँमा आधा गाउँ नै सरिताको शोषणमा पिल्सिएको छ । त्यसैमध्ये एक हुन्, कञ्चनरुप नपा ६ पूर्वी पिप्राकी भुटीदेवी सरदार । भुटीदेवीले ३ वर्षअघि सरिताबाट २० हजार रुपैयाँ लिएकी थिइन् । कपाली तमसुक पनि बनाएकी थिइन् ।भुटीदेवीले पनि २० हजारको बदलामा ५० हजार सरितालाई दिइन् । तर, २० को ५० पाउँदा पनि सरितालाई चित्त बुझेन । अझै १० हजार पैसा तिर्न बाँकी छ भनेर धम्क्याइरहेकी छन् । पैसा नदिए सुनितादेवीलाई जस्तै ६ महिना जेलमा हाल्ने धम्की दिइरहेकी छन् ।
भुटीदेवी आफ्ना तीन–चारवटा गाई हेर्दै भन्छिन्, ‘मेरो सम्पत्ति भनेको यी गाईमात्रै हो । हामी सुकुम्बासी हौं । दैनिक साहू–महाजनकहाँ काम गरेन भने भोकै बस्नुपर्छ । अनि उसलाई मैले अब १० हजार कहाँबाट ल्याएर दिनू ?’भुटीदेवीको हिसाब एकातिर छ, अर्कातिर उनकी बुहारी रामदुलारी सरदारको पीडा पनि सँगसँगै छ । रामदुलारीले पनि सरिताबाटै २ वर्ष अगाडि ७० हजार ऋण लिएकी थिइन् । श्रीमानलाई विदेश पठाउन ऋण लिएकी उनले अहिलेसम्म ४ लाख रुपैयाँ बुझाइसकेकी छन् । तर, अझै ४ लाख नै बाँकी छ भनेर रामदुलारीलाई पनि सरिताले धम्की दिइरहेकी छन् ।सासू-बुहारीलाई नै कपाली तमसुकको भरमा फसाएकी सरिता मान्छे लिएर वेलावेला उनीहरुको घरमा आइरहन्छन् । रामदुलारी भन्छिन्, ‘अहिले त त्यो सरिता कहिले पुलिस लिएर आउँछे र सासू अनि मलाई समातेर लैजान्छ भनेर डरमात्रै लागिरहन्छ । उसलाई त्यति धेरै पैसा तिरेपछि हामीसँग अहिले बाँकी केही पनि छैन । कसरी तिर्नु, त्यत्रो पैसा !’भूतपूर्व नेपाली सैनिककी श्रीमती हुन् सरिता । उनको मिटरब्याजी धन्धाले यहाँ मजदुरी गर्ने सुनितादेवी, भुटीदेवीहरुको उठिबास लागेको छ । उनीहरुसँग जमिन छैन । १० हजार ऋण पनि तिर्न नसक्ने अवस्थामा छन् ।
दलित बस्तीमा ऋण आतंक मच्चाउने सरिता पनि एक्ली सुदखोर होइनन् । छेवैका राजु यादवले पनि यही गाउँका निमुखा नागरिकलाई सताइरहेका छन् ।सप्तकोशीको आसपास माछा मारेर, हटियामा लगेर बेचेर दुई माना चामल घरमा ल्याइ परिवारको सास बचाइरहेका भरत मुखियाले राजुबाट जम्मा १० हजार रुपैयाँमात्रै लिएका थिए दुई वर्षअघि । कपाली तमसुकमा ल्याप्चे लगाएका भरतलाई दुई वर्षमै राजुले ६० हजार पुर्याएका छन् ऋण ।६० हजारको बहीखाता बोकेर भरतको घरतिर डुलिहिँड्ने राजुले पनि सरिताले झैं प्रहरी थानामा लगेर थुनिदिने भनेर धम्की दिइरहेका छन् । आफ्नी सासूको किरिया खर्च गर्न राजुबाट ऋण लिएका भरत भन्छन्, ‘दिनको एक–दुई किलो माछा मारेर मेरो परिवार चलेको छ । अब उसलाई मैले ६० हजार कसरी तिर्नु ?’कुराकानी गर्दै जाँदा भरतको आँखामा आँसु थामिँदैन । उनी भित्तातिर फर्केर रुन्छन् र भन्छन्, ‘मैले उसको घरमा वेलावेला आफू भोकै बसेर माछा लगिदिन्छु । माछा लगेको दिनमात्रै ऊ हाँस्छ । भोलिपल्टदेखि जहाँ भेट्यो त्यहीँ भन्छ कि पैसा तिरेनस् भने जेल पठाइदिन्छु । छिटो पैसा तिर !’भरतजस्ता भूमिहीन दलित बस्तीमा आतंक मच्चाइरहेका राजुले एकदिन सुने, ‘यो दलित बस्तीमा जग्गाको लालपुर्जा भएको एकजना मान्छे पनि छ ।’
तीन कठ्ठा १८ धुर जग्गा भएकी त्यस गाउँमा ५५ वर्षीया सतनीदेवी खत्वे थिइन् । राजुको गिद्दे नजर उनकै जग्गामाथि पर्यो । कसोकसो फकाएर राजुले सतनीदेवीलाई एक लाख १० हजार ऋण दिए साढे दुई वर्ष पहिला ।समय बित्दै जाँदा सतनीदेवी र उनको परिवारले गएको चैतमा राजुलाई तिर्न साढे चार लाख तयार पारे । यसपछि त्यो कपाली तमसुक र राजुको नाममा पास गरिदिएको आफ्नो जग्गा फिर्ता पाउने आश थियो उनको । तर, त्यस्तो भएन । जग्गामाथि आँखा गाडेका राजुले भने, ‘अहिले चुनाव छ । चुनावपछि तिर्नु ।’सतनीदेवीको परिवारले पनि राजुको कुरा माने । चुनावपछि राजुको घरमा गइन् पैसा बुझाउन सतनीदेवी । तर, राजुले हिसाब देखाए, ६ लाख ७५ हजार । उनले यति धेरै पैसा तिर्न नसक्ने बताइन् । यसपछि राजुले ५ लाख १३ हजार तिर्न भने । तर, बल्लतल्ल साढे चार लाख तयार गरेकी सतनीदेवीलाई ६३ हजार पैसाको जोहो गर्नु चानचुने कुरा थिएन । उनले सकिनन् ।
यसपछि गाउँ पञ्चायत बस्यो । पञ्चायतले गाउँमा मिलेर जानुपर्ने निर्णय गर्यो । तर, राजुले मानेनन् । अहिले दिनदिनै सतनीदेवीको घरमा आएर धम्की दिइरहन्छन् । जेल पठाउँछु भनिरहन्छन् । दुई वर्षसम्म सतनीदेवीको जग्गा कमाएका राजुले त्यहाँबाट धेरै असुलिसकेका छन् । गत जेठबाट चाहिँ उनको परिवारले राजुलाई आफ्नो जग्गामा कमाइ गर्न दिएका छैनन् । अब जग्गामा आफैं खेती गर्ने तयारीमा छन् सतनीदेवीको परिवार ।राजुले गाउँकै सुभ्मु सरदारको ट्याक्टर पनि हडपिसकेका छन् । गाउँमा थोरै कसैले केही प्रगति ग¥यो भने त्यही नै राजुको आँखा गइहाल्ने गाउँलेको गुनासो छ । तर, राजुबाट कसरी मुक्ति पाउने ? यसबारे लेखपढ गर्न नजान्ने यी दुई गाउँलाई नै थाहा छैन । कुनै न कुनै दिन सुनितादेवीकै हालतमा पुगिने डरले गाउँ नै त्रसित छ ।
सुदखोर सरिता ठाकुर- कागजले जे भन्छ त्यही हुन्छ
सुदखोर सरिता ठाकुरलाई हामीले प्रतिक्रियाका लागि फोन गर्यौं । उनले सुनितादेवी सदा र भुटीदेवी ठाकुरले लगाएको आरोप इन्कार गरिन् । उल्टै सुनितादेवी, भुटीदेवीले आफूलाई अन्यायमा पारेको दाबी गरिन् ।सुनितादेवी, भुटीदेवीलाई अन्यायमा पारेको विषयमा प्रश्न गर्दा उनले भनिन्, ‘कागज हेर्नुस् । कागजमा जे लेखेको छ, कानूनले त्यही भन्छ । मैले उनीहरुलाई अन्यायमा पारेको छैन, उनीहरुले मलाई अन्याय गरिरहेका छन् ।’उनले सबै प्रमाण र कागज हेरेरमात्रै आफूसँग कुरा गर्न सुझाव पनि दिइन् । सुनितादेवी र भुटीदेवीले लगाएको सबै आरोप इन्कार गर्दै कागज हेर्नमात्रै जोड दिइरहिन् ।