
‘कम्युनिस्ट बाहेक कुनै पनि पार्टीले देशको विकास गर्न सक्दैनन् । यो देशको विकास गर्न कम्युनिस्ट नै चाहिन्छ,’ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको भनाइ हो यो । मंगलबार नेकपा एकता राष्ट्रिय अभियान पार्टीको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा गौतमले कम्युनिस्ट एकता हुनुपर्नेमै अधिकांश समय जोड दिए ।

उनले काँग्रेसको इतिहास हेर्दा पनि सो पार्टीबाट देशको विकास सम्भव नभएको जिकिर गरिरहे । उनले काँग्रेसबाट जनताले सुखी र खुशी हुन नसक्ने उल्लेख गर्दै कम्युनिस्ट एकतामै जनताको अपेक्षा र भरोसा रहेको तर्क गरे । तर कम्युनिस्टहरु धेरै दर्शन पढ्दा विभाजनको अवस्था आउने गरेको तितो यथार्थ कोट्याउँदै उनले आफूले जनताको हित र चाहनालाई मनन् गरेर पुनः कम्युनिस्ट एकतामा जोड दिएको बताए । ‘हिजो एकता गर्न सकियो भने आज सकिन्न भनेर निष्कर्ष निकाल्न सकिन्न,’ उनले भने ।



२०७५ सालमा भएको एमाले र माओवादी केन्द्रबीचको एकता ४६ औं पटकको कम्युनिस्ट एकता भएको उल्लेख गर्दै उनले आफू तीमध्ये ४५ वटा एकीकरणमा संलग्न रहेको धारणा राखे । ‘कम्युनिस्ट पार्टीको ४५ वटा एकीकरणमा म संलग्न छु । यसअघि भएको एकीकरण ४६ औं थियो’, गौतमले भने । उनले नेकपा विभाजन आफूले गरेको नभई त्यसको जिम्मेवार सबैभन्दा बढी केपी ओली र प्रचण्ड नै रहेको बताए । यद्यपि पार्टी विभाजनको एक हिस्सा आफू पनि भएको उनको स्वीकारोक्तिले छ । ‘सचिवालयको म वरिष्ठ सदस्य थिएँ । मैले निष्पक्ष तरिकाले कहिले केपीको त कहिले प्रचण्डको आलोचना गर्थेँ’, उनले भने, ‘मैले जुन आलोचना गर्थेँ । त्यो तथ्यमा आधारित हुन्थ्यो । बाहिरबाट हेर्दा पार्टी छ, भित्रबाट हेर्दा छैनको अवस्थामा थियो र सोहीअनुसारको सुझाव मैले दिने गर्थेँ ।’
