ललितपुरमा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने

ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने भएको छ । पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो ।पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी समेत दिइरहेको छ। ‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ।’

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए । यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताएका छन् ।यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो । त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो ।

बिज्ञापन