इन्टर्नसिपमा गएकी विद्यार्थी बलात्कृत

काठमाडौं : होटल म्यानेजमेन्ट पढ्दै गरेकी २१ वर्षकी विद्यार्थी हात्तीसारस्थित नेपाल हाउस रेस्टुराँमा इन्टर्नसिप गर्न जाँदा बलात्कृत भएकी छिन्।  ती युवती पाँच जनाको टिममा शुक्रबार राति उक्त रेस्टुराँमा पुगेकी थिइन्।

उक्त दिन पार्टीका लागि त्यहाँका सञ्चालकसमेत रहेका शिक्षकले कलेजबाट ३ महिला र दुई युवकलाई बोलाएका थिए। पार्टी चलिरहेकै बेला दोलखाका जीवन फुयाल खत्रीले राति १०:३० बजे ती युवतीलाई स्मोकिङ जोनमा लगेर बलात्कार गरेको जनाइएको छ। खत्री सोही रेस्टुराँमा पहिल्यैदेखि वेटरका रूपमा कार्यरत रहेको पाइएको छ। उनले पेय पदार्थमा मदिरा मिसाएर खुवाएको र नशा लागेका बेला स्मोकिङ जोनमा लगेको पीडितको भनाइ छ।अभियुक्तलाई प्रहरीको दरबारमार्ग वृत्तबाट गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदिप गिरीले बताए।

बिज्ञापन

नेपाल हाउसका सञ्चालक क्षितिज लामिछानेले रेष्टुराँमा पाटी चलेको समयमा घटना भएकाले आफूले तत्कालै थाहा नपाएको बताए। कानुनी उपचारका लागि पीडित पक्षलाई सहयोग गर्ने उनले बताए।