बजेटले सही दिशा पक्रेको छ : गगन थापा

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले आव २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आव २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन्  ।

उनले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताए । उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे । उनले भने– ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादन तर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ ।

बिज्ञापन

उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ । यसको लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरु छनौट भएको छ । मूलतः व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ ।’सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए । बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उनले बताए ।उनले भने– ‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरुको यो पटक यथोचित सम्बोधन भएको छ ।

चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला । चाहे लिजमा दिने कुरा होला । चाहे कर्जा प्रवाहको कुरा होला । चाहे वैदेशिक लगानीको कुराहरु होला । नीजि क्षेत्रका संस्थागत मागहरुको सम्बोधन भएको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पदार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि पक्रेको छ । त्यसैले यो सिद्धान्तको हिसाबले पनि ठिक छ । प्राथमिकताको हिसाबले पनि ठिक छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्रीजीले बुझेर ल्याउनुभएको छ, म यसको स्वागत गर्छु ।’उनले बजेटले समयको मागलाई सम्बोधन गरेको बताए ।