दोलखाको झुले पसेका बाहिरी युवा पक्राउ, बुथ कब्जा गर्न ल्याइएको आरोप

काठमाडौं । निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका बाहिरी जिल्लाका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यहीं वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैरमतदाता प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।अपरिचित व्यक्तिहरु गाउँ प्रवेश गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । दुईजना भने मोटरसाईकलमा फरार भएका छन् ।निर्वाचन बिथोल्ने उद्देश्यका साथ उनीहरु ६ वटा मोटसाइकलमा प्रवेश गरेका थिए । गैरमतदाता एवम् शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन् । उनीहरुले प्रयोग गरेको ६ वटा मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

स्थानीयका अनुसार मतदाता त्रसित पार्न र बुथ कब्जा गर्ने उद्देश्यले उनीहरु झुले प्रवेश गरेका हुन् । निर्वाचन बिथोल्न शंकास्पदरुपमा गाउँ प्रवेश गर्न लागेका युवालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए ।निर्वाचन बिथाल्न र उम्मेदवारलाई धम्की दिनका लागि बाहिरबाट गैरमतादाता युवा प्रवेश गर्न लागेको आशंकामा जिल्लाभरका नाकाहरुमा थप कडाइ गरेर जाँच र खानतलासी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।तामाकोसी गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरुमा यसअघिका निर्वाचनमा पनि गैरमतदाता प्रवेश गरी निर्वाचन प्रभावित पार्ने गरेका थिए ।

झुलेमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका प्रकाश पाख्रिनको नेतृत्वमा बाहिरबाट युवाहरु झिकाइएको स्थानीयको दाबी छ । त्यहाँ कांग्रेसबाटै अर्का बागी उम्मेदवार उठेपछि बुथ कब्जा गर्न यवाहरु ल्याइएको हुनसक्ने एमालेको आरोप छ ।तामाकोशी गाउँपालिकाको झुले र जफेमा प्रायः हरेक चुनावमा बुथ कब्जा हुने गरेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस नेता कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जा भएपछि सोही गाउँपालिका अध्यक्षका एमाले उम्मेदवार ईश्वरचन्द्र पोखरेलसमेत भाग्नुपरेको थियो । तर निर्वाचन भने उनैले जितेका थिए ।