नायक पलशाहविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु

काठमाडौं । नायक पलशाहविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । किशोरी बलात्कारको अभियोगमा जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दायर गरिएका अभिनेता शाहविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पीडित किशोरीका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरेका छन् ।

सरकारी वकिल कमलपन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको किटानी जाहेरीका आधारमा शाहलाई हदैसम्मको कैद सजाय हुनुपर्ने माग गरेका हुन् । तीन जना सरकारी वकिलले किशोरीको माग दाबीबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन् ।

बिज्ञापन

बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको छ भने सवा १ बजेपछि अभियुक्त शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहको पक्षबाट बहस गरेका वकिलहरूले किशोरीले शाहलाई झुठो आरोप लगाएर फसाउन खोजेको दाबी गरेका छन् ।

बहसका क्रममा उनले बिनाप्रमाण झूठा आरोप लगाएर शाहलाई फसाउन खोज्ने नियत देखिएकाले उनलाई रिहा गर्नसमेत माग गरे ।

जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहका पक्षबाट ९ जना अधिवक्ताले बहस गर्नेछन् । बुधबार साँझसम्म शाहलाई रिहा गर्ने वा थुनामा राखेर अनुसन्धान अघि बढाउने भन्ने फैसला आउने बताइएको छ । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार अदालतमा ल्याएर बयान लिइएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी क्षेत्रीका अनुसार शाहविरुद्ध एक किशोरीले अघिल्लो महिना दर्ता गरेको जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालतमा बयान लिइएको हो । उनको बयान मंगलबार सकिएको थियो ।

अभियुक्त शाहले एक वर्षअघि गैंडाकोटमा एउटा गीतको सुटिङका क्रममा एक किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएकी थिइन् ।