कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज पाइने

अबदेखि पहिलो खोप लगाएको तीन महिनामै कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउन पाइने भएको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिले कोभिड–१९ को खोपको पहिलो मात्रा पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने निर्णय गरेको हो।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशका स्वास्थ्य निर्देशनालय,प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ।

‘राष्ट्रिय खोप सल्लाहकार समितिको २०७८ चैत १३ गते सिफरिसको आधारमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि एक मात्रा बुस्टर खोप दिने व्यवस्था गर्न गराउनुहुन अनुरोध छ।’ पत्रमा भनिएको छ।

यसअघि कोभिड –१९ को पहिलो श्रृंखला खोप लगाएको ६ महिनापछि मात्र बुस्टर डोज दिने गरिएको थियो।