केन्द्रीय कमिटीमा एमसीसीबारे खनालको ब्रिफिङ, ‘लेटर अफ एक्सचेन्ज’का लागि दबाब सिर्जना गरौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदबाट ब्याख्यात्मक घोषणा सहित पारित भएको एमसीसी सम्झौतालाई अमेरिकाले पनि स्वीकार गराउनको लागि लेटर अफ एक्सचेन्ज गर्नपर्ने बताएका छन् ।

उनले नेपालको संसदबाट पारित भएको उक्त सम्झौता अमेरिकाले मान्नको लागि लेटर अफ एक्सचेन्ज गर्नुपर्ने र त्यसको लागि दबाब सृजना गर्नुपर्ने बताए । उनले बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा यस्तो बताएका हुन् ।

बिज्ञापन

व्याख्यात्मक घोषणाको प्रचलन भएपनि अर्को पक्षले त्यसलाई स्वीकार गर्यो भने र सम्झौतालाई संशोधन वा ‘लेटर अफ एक्सचेन्ज’ गर्न सकियो भने मात्र उपलब्धि हुने खनालको भनाई छ । उनले भने, ‘यो हामीले एकतर्फीरुपमा गर्‍यौं। अब ‘लेटर अफ एक्सचेन्ज’का लागि दबाब सिर्जना गरौं ।’ एमसीसीलाई अब विवादको विषय बनाउनुभन्दा जे गरिएको छ त्यसलाई उपलब्धि बनाउनका लागि सम्झौताको अंग बनाउन पर्ने खनालको भनाई छ ।

खनालले एमसीसीको मुद्दामा अपरिपक्व सम्झौता रहेको बताए। नेपालको हितलाई तल राखेर अमेरिकाको हितलाई माथि राखेर गरिएको सम्झौता एमसीसी भएको भन्दै उनले यो एक किसिमले आत्मसमर्पण भएको बताए ।

उनले यो विषयमा आफ्नो दल सानो भएको कारण केही गर्न नसकेको गुनासो गरे । उनले भने, मानेनौं भने ३० दिनभित्र खारेज गर्न सक्छौं भन्ने व्यवस्था सम्झौतामा भए पनि कांग्रेस र एमालेको बहुमत भएको र उनीहरु त्यसको पक्षमा रहेको कारण आफूले केही गर्न नसकेको बताए । उनले यो विषय संसदबाट छिनोफानो गर्न नसकिने बताए ।

जस्ताको तस्तै कार्यान्वयन भयो भने एन्टी कम्युनिस्ट र एन्टी चाइना हुने पनि उनको भनाई छ । एमसीसी कार्यान्वयनका लागि राष्ट्रिय स्तरबाट अनुगमन गर्ने संयन्त्र बनाउनु पर्ने खनालको तर्क छ ।