
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप अमेरिकी सहयोगको एमसीसी सम्झौताविरुद्ध उभिएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले एमसीसी सम्झौताबारे पार्टीले स्पष्ट धारणा बनाएर राष्ट्र हितको पक्षमा उभिन निर्देशित गरेको जनाएका छन् ।



मंगलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले नेता रावल पार्टी विधिविरुद्ध गएको अभिव्यक्ति दिएपछि रावलले आफू पार्टी सिद्धान्तअनुरूप उभिएको जनाएका छन् ।

एमसीसी सम्झौता अनुमोदन भएको दिन आइतवार एमालेले संसद अवरोध गरिरहँदा नेता रावलले एमसीसीविरुद्ध बोलेका थिए ।
रावलले ट्विटरमा लेखेका छन्, ‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसँगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ ।
संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरूप उभिएको छु ।
राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’