
काठमाडौं । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडाध्यक्ष नवराज कार्कीको शोकमा भेरीगंगा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ। कात्तिक ८ गते वडाध्यक्ष सवार मोटरसाइकललाई रत्न राजमार्गको भेरीगंगा–१२ स्थित टेलिकम टावर नजिकै विपरित दिशाबाट आएको माइक्रो बसले ठक्कर दिएको थियो।

माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको शुक्रबार राति साढे १९ बजेतिर काठमाडौंस्थित बासबारी न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।



‘वडाध्यक्षको मृत्युले नगरपालिकाले एक विकासप्रेमी र जनप्रेमी नेता गुमाएको छ,’ नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि आइतबार एक दिनका लागि सार्वजनिक विदाको निर्णय गर्दछौं।’

नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले वडा कार्यालयबाट नगरपालिकाको केन्द्र छिन्चु आउँदै गरेको वडाध्यक्ष सवार भे६प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए।