
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नफुटाएको बताएका छन् । उनले आज नयाँ पार्टी राप्रपा नेपालको घोषणा गर्दै आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएको कारण सो पार्टीलाई नफुटाएको दाबी गरेका छन् ।

आफ्नो नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूलाई विधान र कानुनअनुसार राप्रपा फुटाउने सुझाव आए पनि त्यसो नगरेको बताएका हुन् ।



कार्यक्रममा उनले भने, ‘मलाई आज २०७६ साल फागुन २९ गतेको सम्झना भइराखेको छ । यही मञ्चबाट गीता हातमा लिएर राप्रपालाई कदापि फुट्न दिने छैन भन्ने कसम खाएको थिएँ । गीता सनातन धर्मावलम्बीहरूको एउटा महान् ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिले फुटाउँदिन मलाई सम्झना छ । मलाई आज यो भन्दा खुसी लाग्छ कि मैले राप्रपा फुटाइँन ।’

‘मैले चाहेको भए सक्थेँ । अहिले पनि राप्रपामा हामीप्रति स्नेह राख्ने बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू हुनुहुन्छ । वहाँहरूले विधान र कानुन बमोजिम बहुमत पुर्याएर पार्टी फुटाऔँ भन्ने सल्लाह दिनुभएको थियो ।
तर मैले पार्टी फुटाउन चाहिनँ,’ उनले भने, ‘पार्टी फुटाएर बलियो पार्टी बन्छ भन्ने कुरामा म विश्वास राख्दिनँ ।’