महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै : नगरमा २५ र गाउँपालिकामा ५० प्रतिशत राजस्व छुट

चालू आर्थिक वर्षमा जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको पाइएको छ ।  हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको  पाइएको हो । चालू आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले  जनाएको छ ।

जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर  रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिका भित्रका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको तथ्याङ्क छ ।’

बिज्ञापन

पछिल्लो समयमा  सरकारले नै महिलाका नाममा  जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रावधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो । जग्गा पास गर्दा महिलाको नाममा राजश्व कम लाग्ने भएकाले महिलाको नाममा रजिस्ट्रेशन गर्नेको संख्या बढेको नायब सुब्बा मोन विष्टले बताए ।

नगरपालिकाभित्रको महिलाको नाममा जग्गा पास भएमा २५ प्रतिशत र गाउँपालिकाको महिलाको  नाममा जग्गा रजिस्ट्रेशन भएमा ५० प्रतिशत राजश्वमा छुट हुने गरेको छ । राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ ।

कार्यालय प्रमुख रोकाया भन्छन्, ‘महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८३५ रुपैया राजश्वमा छुट  भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा एक लाख ३ हजार राजश्वमा छुट्भएको  छ ।