
काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र तथा बाग्मती प्रदेशभरी छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द भएको हो ।

बन्दका कारण सोमवार काठमाडौं उपत्यकामा चल्ने अधिकांश सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
सार्वजनिक सवारी फाटफुट मात्रामा चल्दा बिहनैदेखी यात्रुलाई समस्या परेको छ । कोरोना भाईरसको जोखिममा पनि यात्रु कोचिएर यात्रा गर्न बाध्य भएका छन् ।



सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव केशव नेपालले बाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आन्दोलनमा जानु परेको बताएका छन् । सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको उनले बताए ।

संघीय सरकारले अन्तरप्रदेश चल्ने सवारी साधनको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि नभएको भनि उनिहरुआनदोलनमा उत्रिएका हुन ।
कानुन अनुसार छोटा तथा प्रदेशभरीका रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहहरुलाई छ । यातायात व्यवसायीले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि
पटक पटक लिखित आग्रह गरेपनि सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको महासचिव नेपालले बताए ।
काठमाडौं उपत्यको चक्रपथमा चल्ने धेरैजसो कम्पनीले यातायात सेवा बन्द गरेका छन् । प्रदेश सरकारले भाडा बढाउन चासो नदिए अब चोक–चोकमा सवारी तेस्र्याएर आन्दोलन गरिने महासंघले चेतावनी समेत दिएको छ ।
पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारी सञ्चालन खर्च नउठ्ने अवस्था आएका कारण यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गगररहेका छन् ।