
काठमाडौँ : नेकपा एमालेका सांसद झपट रावलले सर्वोच्च अदालतको फैसला गलत भन्नेहरूलाई पुनःस्थापित प्रतिनिधि सभा सदस्यबाट राजीनामा गर्ने आँट र हिम्मत गर्न चुनौती दिएका छन् । उनले विघटनको पक्षमा हुनेहरुलाई प्रतिनिधि सभामा उपस्थित हुने कुनै नैतिक अधिकार नरहेको बताए ।

‘आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं ?’ बिहीबार सामाजिक सञ्जालमा सांसद रावलले लेखेका छन्, ’सम्मानित अदालतले हाम्रो कदमलाई उचित ठहरियो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौं भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरुको लागि सबभन्दा उत्तम गन्तव्य हो ।’



संविधान, लोकतन्त्र र संसदीय सर्वोच्चतालाई शासकीय अहंकारको पञ्जाबाट बचाउने नेकपा एमालेका २३ सांसदमाथि अहिले बिभिन्न माध्यमबाट विषबमन गर्ने र अतिरञ्जित ढंगले भ्रम छर्ने दुस्प्रयास भइरहेको उनले बताएका छन् ।
