
काठमाडौँ : निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो ।

शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।



बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो । बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ । शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो। कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।

पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए ।
एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ ।
बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ । त्यसपछि नदीको दक्षिण भेगतिर बसोबास गर्नेलाई सचेत र सतर्क गराइने प्रहरीले जनाएको छ ।