खतरनाक लुटपाट: एक लुटेरा पक्राउ, दुई स्थानीय घाइते  | OmkarTimes.com

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिका–७ मा गएराति दुई घरमा लुटपाट भएको छ । लुटपाटको क्रममा स्थानीयबासी र लुटेर समूहबीच झडप हुँदा दुई स्थानीय घाइते भएका छन् ।

एक लुटेरालाई नियन्त्रणमा लिएर स्थानीयबासीले प्रहरीलाई बुझाएका छन् ।

बिज्ञापन

राति करिब १ बजेतिर हतियारसहित आएका लुटेराले वडा नम्बर ७ स्थित प्रेमनगरका निखुल महतो र चन्देश्वर महतोको घरबाट धनमाल लुटेका हुन् । निखुल महतोको घरबाट एक लाख ३७ हजार रुपैयाँ लुटिएको छ । यस्तै चन्देश्वर महतोको घरबाट दुई लाख ५० हजार लुटिएको हो ।

यसबाहेक दुबै घरबाट सुन, चाँदी, ल्यापटप, मोबाइल र अन्य सामान पनि लुटेराले लगेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।

गाउँलेले ४५ वर्षीय देवनारायण कापर नाम गरेका एक लुटेरालाई पनि हतियारसहित नियन्त्रणमा लिन सफल भएका छन् । उनलाई गोली लोड गरिएको कटुवा पेस्तोलसहित स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चन्देश्वर महतोको घरमा पुग्दा लुटेरमाथि घरमुलीले प्रतिकार गर्दा दुई जना घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।