बजेट पारित भएसँगै सरकार पुनर्गठन हुने प्रचण्डको संकेत, प्रधानमन्त्रीसँग निरन्तर छलफलमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएसँगै सरकार पुनर्गठन हुनसक्ने संकेत गर्नुभएको छ ।

 

बिज्ञापन

आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा मन्त्रीहरु हेरफेर गर्नेबारे आफ्नो छलफल भएको बताउँदै अबको केही समयमै सरकार पुनर्गठन हुन सक्ने संकेत दिनुभएको हो ।

 

वर्तमान सरकार जनतामा अलोकप्रिय हुँदै गएको भन्ने आरोप लागिरहेका बेला आएको प्रचण्डको सो संकेतले गहिरो अर्थ राख्छ । प्रचण्ड आफै पनि प्रधानमन्त्री ओली र केही मन्त्रीहरुको क्रियाकलाप्रति असन्तुष्ट नरहेको उहाँ निकट स्रोतले बताउने गरेका छन् ।

 

यद्यपि उहाँले सरकारको नेतृत्व हेरफेर गर्नुपर्ने कारण नरहेको बताउँदै केही मन्त्रीहरु हेरफेर हुने संकेत गर्नुभयो । पाँच वर्षका लागि संसदबाट सरकार चुनिएको बताउँदै उहाँले सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भनेर कहिल्यै नभनेको दाबी गर्नुभयो । यसअघि उहाँलाई प्रधानमन्त्रीको कुर्सी तोकेको भनी आलोचना हुने गरेको छ ।

 

‘हिजो जे सुकै सहमति भएको भए पनि बदलिएको परिस्थितिमा सरकार पाँचै वर्ष जान सक्छ भनेको थिएँ तर मैले भन्न खोजेको कुरा बिगारेर प्रचार गरियाे,’ उहाँले भन्नुभयाे, ‘यति ठूलाे एकता प्रक्रिया र त्यसबेला गरेका प्रतिबद्धतामा दयाँबायाँ गरियाे भने त्याे राष्ट्रको लागि पनि अहितकर हुन्छ ।’

 

 

पार्टी एकताका क्रममा सरकारको नेतृत्व पनि आलोपालो गर्ने सहमति भएको भन्दै प्रचण्डले केही समयअघि बताउनुभएको थियो ।

 

सो सहमति भएकै हो भन्ने कुरा उहाँले पुनः दोहोर्याउनुभयो । साथै सरकार र पार्टीको नेतृत्व समेत एउटै व्यक्तिले गर्न नहुने सहमति पनि भएको खुलासा गर्दै उहाँले पार्टी एकता गरिसकेपछि सो क्रममा भएका सहमति पनि पालना हुनुपर्ने बताउनुभयो ।

 

उहाँले एकीकृत पार्टीलाई कसरी सुदृढ ढंगले अगाडि बढाउने भन्ने बारे अहिले पनि आफू र प्रधानमन्त्री ओलीबीच छलफल भइरहेको जानकारी दिँदै ठूलो पार्टी भएकाले सतहमा देखिएका केही असन्तुष्टिहरु बाहिर आएको बताउनुभयो ।

 

फरक प्रसंगमा उहाँल्े प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले राज्यसँग अटेरी गरेर अवाञ्छित गतिविधि गरिरहेको आरोप लगाउनुभयो । राजधानीमा आफ्नै मान्छे मर्नेगरी बम पड्काउने काम राम्रो थिएन भनी उहाँले विप्लव नेतृत्वका कमजोरीहरूकाे आलोचना गर्नुभयो ।