
विराटनगर- प्रदेश १ सरकारले पहिलो चरणमा छ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । छ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई पहिलो चरणमा तालिम दिने तयारी सामाजिक विकास मन्त्रालयले गरेको छ । प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भई शिक्षण सिकाई क्रियाकलाप र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय तहहरुसँगको साँझेदारीमा पहिलो चरणमा छ वटा स्थानीय तहमा यसै साता भित्र तालिम सञ्चालन गर्ने योजना बनाएको छ । तालिम सञ्चालनका लागि मन्त्रालयले स्थानीय तहहरुसँग सम्झौता गरिरहेको छ ।



सामाजिक विकास मन्त्रालय र झापाको अर्जुनधारा नगरपालिकाबीच सम्झौता भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिका प्रमख हरिकुमार रानामगरले सम्झौता आदानप्रदान गरे । सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाई कक्षा कोठामा मात्र सीमित नराखी सूचना प्रविधिको उपयोग गरेर शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए ।

मन्त्रालयले यसअघि इलामको सुर्योदय नगरपालिका, झापाको मेचीनगर नगरपालिका, मोरङको पथरीशनिश्चरे नगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिकासँग सम्झौता गरिसकेको छ ।