म्याग्दीमा सलहको वितण्डाः मकै तथा धानबाली नष्ट

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ ।

एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

बिज्ञापन

सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् ।

पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका–२ खबराकी किसान तुलसी सापकोटाले बताए ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका किसान ध्रुव घिमिरेले भने ।

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए ।