किसानले धान खेतमै आगो लगाए, ट्याक्टरले जोते

भरतपुर : राप्ती नगरपालिका-४ बेलुवाका किसान कमलप्रसाद तिवारीले २२ कट्ठामा रोपेको धान खेतीमा आगो लगाएका छन् । पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि उनले आइतबार धानबारीमै आगो लगाए । धानको बोट चिसो भएकाले आगोले नष्ट नभएपछि उनले ट्याक्टर लगाएर पूरै खेत जोते ।

झुलेको धानमा रोगले भुस मात्र भएपछि नष्ट गरेको तिवारीले जानकारी दिए । खेत जोत्नेदेखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ खर्च गरेको उनको भनाइ छ । आफ्नो जीवनमा यसअघि यस्तो कहिल्यै नदेखेको र नभोगेको उनले बताए । अरूको खेत भाडामा लिएर खेती गर्दै आएका तिवारीले अघिल्लो वर्ष सोही जग्गामा ५५ क्विन्टल धान उत्पादन भएको सुनाए ।

बिज्ञापन

हर्दिनाथ–१ धानमा समस्या

पूर्वी चितवनमा हर्दिनाथ-१ नामक धानमा यस्तो समस्या देखिएको हो । यस क्षेत्रका किसानले चैत पहिलो साता धान रोपेका थिए । राप्ती-४ बेलुवाआसपासमा झन्डै २० बिघामा लगाइएको धानमा यस्तै समस्या देखिएको छ । यो क्षेत्र धान जोन पनि हो ।

प्रधानमन्त्री कृृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको जानकारी दिए । खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब ६० प्रतिशत धान खेतीमा यो रोगले क्षति पु-याएको छ ।

उत्पादन लिने वेलामा चितवनका सात सय बिघामा लगाइएको धान खेती नोक्सान भएको तिमल्सिनाले बताए । धान रोपेयता चारपटकसम्म विषादी छरे पनि उपलब्धि शून्य रहेको उनको भनाइ छ । तिमल्सिनाका अनुसार चितवनमा चैते धान करिब पाँच सय हेक्टरमा लगाइँदै आएको छ । धान जोन क्षेत्रमा मात्रै २६ सय हेक्टरमा धान खेती हुन्छ ।

घाँटी मरुवा रोगले धान खेती सखाप

घाँटी मरुवा अर्थात् नेक ब्लास्ट नामक रोगले धान खेती सखाप भएको तिवारीले बताए । बाला सुकेर पहेँलै भएर धान पाकेकोजस्तो देखिए पनि यो रोग लाग्दा धानमा दाना नभई भुस मात्रै हुन्छ । नेक ब्लास्टले बालाको फेदमा आक्रमण गर्दछ ।

तिवारीकै साँधमा खेती गर्दै आएका बुद्धिराज खरेलको पाँच कट्ठा जग्गामा पनि हर्दिनाथ-१ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे, तर बोट हरियो भएकाले आगो लाग्न सकेन । उनले धान रोप्दा ११ हजार रुपैयाँ खर्च भएको सुनाए ।

बेलुवाकै राधिका क्षेत्रीले धान उत्पादन नभए पनि परालका लागि धानको बोट काटेकी छिन् । ठूलो मेसिन प्रयोग गरेर शुक्रबार परालका लागि धान काटिएको उनले सुनाइन् । क्षेत्रीले १२ कट्ठा जमिन भाडामा लिएर खेती गर्दै आएकी थिइन् । उनको गोठमा पाँचवटा गाई छन् । नयाँ पत्रिका दैनिकमा विवेक पोख्रेलले लेखेका छन् ।