आममाफी पाएका तीन सय महिलालाई आज कुवेत सरकारले नेपाल ल्याइदिने

काठमाडौं : कुवेतबाट आज (बुधबार) तीन सय नेपाली स्वदेश फर्कने भएका छन् । कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई दुई वटा जहाजमार्फत नेपाल पठाइदिने भएको हो ।

फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीएमसीले तय गरिसकेको छ ।

बिज्ञापन

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्रलाई मन्त्रालयलाई बुझाएको थियो ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइदिन लागेका हो ।

कुवेतबाट जजीरा एयरवेजले नेपालीलाई लिएर आउने छ ।

कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइ दिइरहेको छ ।

नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ ।

गत अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।