सीमा विवादले मोदीको मुड ठीक छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहोर्याएका पनि छन् ।

भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’

बिज्ञापन

एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’

गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ।’

ट्रम्पको मध्यस्थताको प्रस्तावबारे चिनियाँ विदेश मन्त्रालयको औपचारिक प्रतिक्रिया आइसकेको छैन । तर, चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनलाई मध्यस्थताको आवश्यकता छैन ।

भारतले ट्रम्पको मध्यस्थताको प्रस्तावमा कूटनीतिक जवाफ दिएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा जारी तनावको शान्तिपूर्ण समाधानका लागि चीनसँग कुराकानी भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण समाधानका लागि चीनसँग सम्पर्कमा छौं ।’

भारत र चीनबीच विवाद किन ?

भारत र चीनबीच चीनमा अवस्थित गलवान उपत्यका नजिक तनाव भइरहन्छ । यो उपत्यका चीनको दक्षिण शियान्जिङ र भारतको लद्दाखसम्म फैलिएको छ । गलवान उपत्यकाको लद्दाख र अक्साई चीनबीच भारत–चीन सीमा नजिक पर्दछ । यहाँको वास्तविक नियन्त्रण रेखा (एलएसी)ले चीन र भारतलाई छुट्टाउँछ ।

पछिल्लो पटक भारतले गलवान उपत्यका घाटीको किनारमा चिनियाँ सेना टेन्ट लगाएर बसेको आरोप लगायो । भारतले पनि आफ्ना सुरक्षाकर्मीको तैनाथी बढायो ।

भारतले गलवान उपत्यका नजिक सुरक्षासम्बन्धी ठूलो भौतिक संरचना गैरकानुनीय रुपले बनाएको भन्दै चीनले विरोध गर्दै आएको छ ।

पछिल्लो समय उत्तरी सिक्कमको नाथुला क्षेत्रमा भारत र चीनका सेनाबीच झडपसमेत भएको थियो । त्यतिबेला लद्दाखमा सीमा रेखा नजिक चिनियाँ सेनाका हेलिकप्टर देखिएको भारतीय पक्षको भनाइ छ । त्यसपछि भारतले आफ्ना वायु सेना र लडाकु विमानमार्फत् हवाई गस्ती सुरु गरेको थियो ।

भारत र चीनबीच जारी तनावलाई अन्त्य गर्न पटक पटक डिभिजनस्तरमा वार्ता भइरहे पनि विफल हुँदै आएको छ ।

सीमा क्षेत्रमा चीनले आफ्ना सैनिक तैनाथ गर्दा पनि विरोध गर्ने भारतले नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग भने वर्षौंदेखि गैरकानुनी रुपले कब्जा गरेर सेना राखेको छ ।

पछिल्लो समय भारतले नेपाली भूमिलाई मिचेर लिपुलेक हुँदै मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको छ । भारतको यो हेपाहा प्रवृत्तिको नेपालमा तीव्र विरोध भइरहेको छ भने नेपाल सरकारले नेपाली भूमिबाट सैनिक तत्काल हटाउन भारतलाई आग्रह गर्दै आएको छ ।