
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले मानसरोबर जाने सडकको ट्र्याक खोलेको विषयमा कोरोना महामारीका बीचनै भारत सरकारसँग वार्ता गर्न चाहेको बताउनुभएको छ ।




सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञावलीले कोरोना महामारीको बहानामा सरकार पर्खिने पक्षमा नरहेको बताउँदै भारतसँग तत्काल वार्ता गर्न चाहेको बताउनुभएको हो ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरेपनि आफूहरू त्यसरी पर्खन नसक्ने बताउनुभएको हो ।
अहिले दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र भएको जनाउँदै उहाँले भन्नुभयो, ‘यसबाट समस्या समाधान भयो भने ठीकै छ । तर, यसबाट पनि समाधान भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं ।’
परराष्ट्रमन्त्रीस्तरको वार्ताबाट पनि समाधान नभएको खण्डमा उच्च राजनीतिक तहको वार्ता गर्न पनि आफूहरु तयार रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा तयार भइसकेको तर, दुई देशबीच वार्ता हुने भनिएको भएर केही समय पर्खिएको बताउनुभयो ।