
कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् ।




बैतडीका ती मजदूर ३ सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् ।

उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि त्यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए ।
‘एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ ।’ उनले भने , ‘साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।’ उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे ।
‘नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन ग¥यौँ ।’भण्डारीले दुखेसो पोख्दै भने, ‘दूतावासको फोन उठ्दैन ।’ त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए ।
‘हुलिएर बसेका छौँ । बाहिर कोरोनाको संत्रास धेरै छ ।’ भने, ‘अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।’ उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।
‘त्यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।’ उनले भने, ‘हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।’ त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए ।
‘एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ ।’ उनले भने, ‘यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ । ’ उनले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् ।
सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट १लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।
नेपाल–भारत सीमामा करिब १ हजार ५ सय को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए ।
‘सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।’ उनले भने, ‘जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ ।’
बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका ४ वडाध्यक्षसहित ९ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ । रासस