पूर्वसभामुख महरा जेल जान्छन् कि छुट्छन् ? , अन्तिम सुनुवाई आज

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे आज (सोमबार) काठमाडौ जिल्ला अदालतले फैसला गर्दैछ । हिजो (आइतबार) पूर्वसभामुख महराको अन्तिम सुनुवाई भएको थियो ।

 

बिज्ञापन

हिजो महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला हुन नसकेपछि आजको लागि तय गरिएको हो ।

 

त्यसअघि सरकारी वकिलको तर्फबाट बहस भएको थियो । सरकारी वकिलको तर्फबाट बहस सकिएपछि महराको पक्षबाट बहस चलेको थियो ।

 

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिए ।

 

उनले भने–‘समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः सोमबार फैसला आउँछ ।,’

 

गत असोज १९ गते संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको महरा पक्राउ गरेका थिए । बलात्कारको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

 

यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

 

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि गत मङ्सिर ५ गते महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाऊँ भन्ने आग्रहसहित उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

 

त्यसेबला उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको थियो । मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।