
काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि खटिन आदेश दिए जुनसुकै बेला सीमा सुरक्षामा जान तयार रहेको नेपाली सेनाले बताएको छ । भारतीय पक्षले नेपालको लिपुलेक, लिम्पियाधुरा, सुस्ता क्षेत्र अतिक्रमण गरेको खबर सार्वजनिक भए सँगै नेपाली सेनाले देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्न सदैव तयार रहेको बताएको हो ।

मन्त्री परिषद्को निर्णयअनुसार अस्थाई निर्देशनालय स्थापना गरी सीमा समन्वय महाशाखा, सर्वेक्षण महाशाखा र सन्धी–सम्झौता अध्ययन तथा अनुसन्धान महाशाखा स्थापना गरेको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।



प्रवक्ता पाण्डेले विभिन्न सञ्चारमाध्यमहरुमा ‘नेपाली सेना सीमानामा’ भन्ने समाचार आएको भएपनि हालसम्म सरकारबाट कुनै निर्देशन नआएको बताउनुभयो । सरकारबाट निर्देशनालयको पदपूर्तीका लागि दरबन्दीसमेत कायम नगरिएको प्रवक्ता पाण्डेको भनाइ छ ।

त्यस्तै उता बाराका युवाहरुले शनिबार नेपाल–भारत सीमास्तम्भमा उभिएर नेपाल राष्ट्रिय गान गायका छन्। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली…राष्ट्रगान गाएपछि भारतीय सुरक्षाकर्मीले असन्तुष्टि जनाएका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) तीन जवान सीमामा मन्दिर बनाउन आएको खबर आएको बताउँदै आइपुगेका थिए।
एसएसबीका अजय कुमारले मन्दिर बनाउन खोजेको हो भनेर प्रश्न गरेका थिए। नेपाली युवाहरुले गलत कुरा हो, यो भ्रम हो भनेर एकै स्वरमा जवाफ दिएका थिए । उनीहरुले नेपाली भूमि मिचिएका खबरहरु आइरहेको बेलामा आफ्नो सीमाको अवस्था हेर्न आएको बताएका थिए। ‘हाम्रो सिमाना कहाँ छ? हामीलाई थाहा हुनुपर्यो नि!’ नेपाली युवाहरूले जवाफमा भने।
एसएसबीका ईन्सपेक्टर अजय कुमारले भने सीमास्तम्भ राखिएको डाँडामा चढेकोमा पनि असन्तुष्टि जनाए। ‘कुन समुहबाट आएको हो,’ कुमारले भने, ‘समुहको नेतृत्व कसले गरेको छ?’ युवाहरुले परिचय दिएपछि सीमा स्तम्भसँगै उभिएर नेपालको राष्ट्रगान गाएका थिए।