मोरङमा पेस्तोलसहित दुई युवा पक्राउ

मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट प्रहरीले बुधबार बिहान पेस्तोल र घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। डीएसपी कोपिला चुँडालका अनुसार दिनेश मण्डलको भुस राख्ने छाप्रोमा लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको एकथान सिक्सर पेस्तोल बरामद गरिएको हो।

पक्राउ पर्नेमा १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डल रहेका छन्। फरार रहेका २० वर्षीय मुकेशकुमार महतोको खोजी भइरहेको छ। हरिकुमारको साथबाट नम्बर मेटिएको मोटरसाइकल पनि बरामद गरिएको छ।

बिज्ञापन

पक्राउ परेका दुवैजना यसअघि मोटरसाइकल चोरीमा संलग्न रही सजाय भुक्तान गरी एक महिना अघि मात्र छुटेका थिए। उनीहरूविरुद्ध हातहतियार खरखजाना मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

प्रहरीले हतियार आपूर्तिको शृङ्खला र सम्भावित आपराधिक योजनाबारे थप अनुसन्धान गरिरहेको छ।