
दमक / पहाडी जिल्ला इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक यो वर्ष पनि कालोपत्रे हुन सकेन ।

इलामसहित पाँचथर र ताप्लेजुङसँग जोडिएको मेची राजमार्गको वैकल्पिक सडकको रूपमा हेरिएको इलाम भञ्ज्याङ्ग–बेलासे–बिदाबारी सडक निर्माण ठेकेदार कम्पनीको चरम लापरबाही र ढिलासुस्तीको कारण कालोपत्रे हुन नसकेकाे हाे ।



माई नगरपालिकाको लोदिया खोला माथिबाट सोक्तिमसम्मको सडक खण्ड,सोक्तिमदेखि बेलासे–माईखोला खण्ड र बेलासी, राकसे हुँदै इलाम भञ्ज्याङ्गसम्मको सडक खण्ड छुट्टाछुट्टै कालोपत्रे निर्माण गर्न ठेक्का लागेको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण कामले गति लिन नसकेको हो ।

तोकिएको गतिमा काम भएकाले बर्सेनि सडक निर्माणको लागि छुट्टिएको बजेट फिर्ता हुने गरेको छ । यो वर्षमा पनि करिब साढे ५ करोड रकम काम नभएर फिर्ता भएको डिभिजन सडक कार्यालयले जानकारी दिएकाे छ ।
केचना कञ्चनजंगा सडकअन्तर्गत इलाम खण्डको बेलासी—राकसे—भञ्ज्याङ्ग खण्ड थपिएको म्यादभित्र पनि सुस्त गतिमा निर्माण भइरहेको छ । पछिल्लो पटक २०८२ असार १८ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि आधा कामसमेत हुन सकेको छैन । निर्माणका लागि २०७८ असार २९ गते निर्माण कम्पनी खड्का कृष्ण सक्षम जेभीसँग सम्झौता भएको थियो ।
२०८० पुस मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि पटक–पटक म्याद थप गर्दा समेत कुनै प्रगति नभएको र हालसम्म उक्त सडक खण्डमा ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको डिभिजन सडक कार्यालयका डिभिजन इन्जिनियरले जानकारी दिएका हुन् । निर्माण कम्पनीका प्रमुख डम्बरबहादुर खड्का हुन् ।