
दमक / झापा – बिर्तामोड बसपार्कस्थित फर्निचर उद्योगमा भीषण आगलागी

झापाको बिर्तामोड बसपार्क क्षेत्रमा रहेको एक फर्निचर उद्योगमा गएराति मध्यरातको समयमा आगलागी भएको छ। अर्जुनधारा नगरपालिका–११ का मोतीबहादुर खड्काले सञ्चालन गर्दै आएको खड्का फर्निचर नामक सो उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।



टिनको छानो र टिनकै घेराबारामा बनेको एकतले सो घरमा सञ्चालित फर्निचर उद्योगमा आगलागी हुँदा काठ चिर्ने मेसिनसहित उद्योगभित्र राखिएको काठपात पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अनुमानित रूपमा आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति पुगेको छ।

आगलागीको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। साथै, आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।